पोखराका युवा उद्योगी/व्यवसायीहरुको टोली मित्रराष्ट्र चीनको ग्वाङझाउको भ्रमणमा निस्कने भएको छ।
ग्वाङझाउ पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध भएको चिनियाँ सहर हो। दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने, व्यापारका अवसरहरू खोज्ने तथा सांस्कृतिक आदानप्रदानलाई अभिवृद्धि गर्ने लक्ष्यसहित यो भ्रमण तय गरिएको एनवाईईएफ पोखराका अध्यक्ष निरन केसीले जानकारी दिए।
‘नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउनु र व्यापार तथा लगानीका अवसरहरूलाई प्रवर्द्धन गर्नु हाम्रो उदेश्य हो,’अध्यक्ष केसीले भने,‘त्यहाँ हुँदा हामीले सरकारी अधिकारीहरू, व्यापारिक नेताहरू र उद्यमीहरूलगायत प्रमुख सरोकारवालाहरूसँग संलग्न भएर, नेपाली युवा उद्यमी मञ्च पोखराले दुवै देशको अर्थतन्त्रलाई फाइदा हुने संवाद गर्नेछौं।’
भ्रमणले चिनियाँ लगानीकर्ताहरूलाई पोखराको लगानी क्षमता र पर्यटन, कृषि, नवीकरणीय ऊर्जा र प्रविधि जस्ता प्रमुख क्षेत्रहरूमा सहकार्यलाई प्रोत्साहन गर्ने पनि उनले जिकिर गरे।
पोउवा संघका अध्यक्ष पवनकुमार प्रजापतिले यस भ्रमणले भगिनि शहर ग्वाङझाउ र पोखरा महानगरपालिकाको सम्बन्ध अझ धेरै प्रगाढ हुने साथै पोखाराको पर्यटन सुस्ताएको अवस्थामा टेवा पुग्ने बताए पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ तथा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पनि ले पनि पोखरा प्रवद्र्धनमा भ्रमणले सघाउने आशा राखे।
भ्रमणलाई पोखरा तथा गण्डकी प्रदेशको सम्भाव्यता देखाउन र चिनियाँ उद्यमीहरू र लगानीकर्ताहरूसँग सम्पर्क स्थापित गर्न गण्डकी प्रदेश मुस्ताङ जिल्लासँग जोडिएको नेपाल चीनको सिमाना कोरला नाकाको दीगो संचालनको लागि उपयोग गर्ने उनको भनाइ छ।
यसका साथै मञ्चका अध्यक्ष केसीले भ्रमण टोलीमा यस मञ्चका पूर्व अध्यक्ष तथा नेपाल चाइना उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका वर्तमान अध्यक्ष वैभव पौडेलले पोखराको पर्यटनबारे तथा मञ्चका पूर्वअध्यक्ष तथा नेपाल हवाइ खेलकुद संस्थाका वर्तमान अध्यक्ष सुनिलबहादुर भट्टराईले साहसिक खेलकुदबारे प्रस्तुति दिने कार्यक्रम तय भएको उनले बताए।